काठमाण्डौ । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।
महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ । यस्तै, तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति भने कोशी प्रदेश लगायत देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । साथै मधेश प्रदेश तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।


