काठमाण्डौ । भारतको पश्चिम बंगाल राज्यअन्तर्गत परगना जिल्लाको मध्यमग्राम क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारी का निजी सहायक चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले चन्द्रनाथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।
घटनामा उनका चालक बुद्धदेव बेरा पनि घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई कोलकातास्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जना व्यक्तिले योजनाबद्ध रूपमा आक्रमण गरेको आशंका गरिएको छ । घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
भाजपा नेता शुभेन्दु अधिकारी लामो समयसम्म ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेससँग आबद्ध थिए । पछिल्लो विधानसभा निर्वाचनअघि उनी भाजपा प्रवेश गरेका थिए ।
घटनापछि भाजपा नेता तथा कार्यकर्ताहरूले तीव्र आक्रोश व्यक्त गरेका छन् ।


