Banner Nepal
वैशाख २४ मा राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाण्डौ । आज देशभर राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते नेपालको पहिलो अखबार गोर्खापत्र साप्ताहिक रूपमा प्रकाशन सुरु भएको दिनको स्मरणमा सरकारले २०७३ सालदेखि हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालेको हो ।

पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व तथा पेसागत र व्यावसायिक सुरक्षाको महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइने गरिएको छ । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरी राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

यसैबीच, पत्रकारिता दिवस तथा १२६औँ वर्ष प्रवेशको अवसरमा गोर्खापत्र दैनिकले विशेष अङ्क प्रकाशन गरेको छ । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः’ भन्ने आदर्श वाक्यका साथ गोर्खापत्र निरन्तर प्रकाशन हुँदै आएको छ ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिना लगायतले शुभकामना सन्देश दिनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update