काठमाण्डौ । जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कलाकार सीताराम कट्टेल, कुन्जना घिमिरे तथा उनीहरूका नातेदार कृष्ण घिमिरेमाथि ऋण नतिरेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
सहकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै करिब ७० लाख रुपैयाँ ऋण अझै असुल हुन नसकेको जनाएको हो । सहकारीका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनका सञ्चालक सदस्य तथा सीताराम कट्टेलका सालो कृष्ण घिमिरेको नाममा ६ महिनाका लागि कर्जा प्रवाह गरिएको थियो ।
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका क्रममा आर्थिक अभाव भएपछि फाउन्डेसनको चेक बाउन्स हुने तथा कालोसूचीमा पर्ने अवस्था आएको भन्दै दैनिक संकलन हुने सहयोग रकमबाट ऋण चुक्ता गर्ने सर्तमा रकम उपलब्ध गराइएको सहकारीको दाबी छ ।
सहकारीले कृष्ण घिमिरे हाल बेलायतमा रहेको उल्लेख गर्दै ऋण भुक्तानीका लागि सम्पर्क गर्दा ‘भिनाजुसँग कुरा गर्नुस्’ वा ‘महानगरले तिर्छ’ भन्ने जवाफ दिने गरेको जनाएको छ । यस्तै, सीताराम कट्टेल र कुन्जना घिमिरे अमेरिकामा बसोबास गरिरहेको तथा त्यहाँ घरसमेत खरिद गरेर बस्दै आएको तस्वीर सार्वजनिक भइरहे पनि ऋण तिर्न कुनै चासो नदिएको आरोप सहकारीले लगाएको छ ।
‘तपाईँहरूकै कारण सदस्यहरूको बचत फिर्ता गर्न सकेका छैनौँ, तीन वर्ष बितिसकेको छ,’ सहकारीले सार्वजनिक अपिलमा उल्लेख गरेको छ । संस्थाले करिब ७० लाख रुपैयाँ अझै बाँकी रहेको दाबी गर्दै जनताको बचत फिर्ता नगरी विदेशमा बस्नु अन्यायपूर्ण भएको टिप्पणी गरेको छ ।
सहकारीले अब ऋण असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइसकेको चेतावनीसमेत दिएको छ ।


