काठमाण्डौ — संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा एक जुरीले सामाजिक सञ्जाल कम्पनी मेटालाई बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याएको तथा उनीहरूलाई यौन शोषणको जोखिममा पारेको निष्कर्षसहित ३७ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
६ हप्तासम्म चलेको विस्तृत सुनुवाइपछि मंगलबार सुनाइएको यस फैसलालाई बाल सुरक्षाको सवालमा कुनै अमेरिकी राज्यले मेटाविरुद्ध जितेको पहिलो महत्वपूर्ण कानुनी उपलब्धि मानिएको छ। राज्यका अधिकारीहरूले कम्पनीले नाबालिगहरूको सुरक्षा सुनिश्चित गर्न असफल भएको आरोप लगाएका थिए।
अदालतमा प्रस्तुत प्रमाणहरूका आधारमा जुरीले मेटाले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको ठहर गर्दै न्यु मेक्सिकोको अनुचित व्यापार अभ्याससम्बन्धी कानुनका केही प्रावधान उल्लङ्घन गरेको निष्कर्ष निकालेको हो। साथै, कम्पनीले भ्रामक जानकारी दिएको र बालबालिकाको अनुभवहीनताको अनुचित फाइदा उठाएको आरोपमा पनि सहमति जनाइएको छ।
सुनुवाइका क्रममा ४० जना साक्षीको बयान तथा सयौं कागजात, रिपोर्ट र इमेलहरूको अध्ययन गरिएको थियो। यसबीच, मेटाले भने फैसलाप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने संकेत दिएको छ। कम्पनीले आफ्ना प्लेटफर्महरू सुरक्षित बनाउन निरन्तर प्रयास भइरहेको दाबी गरेको छ।
यस मुद्दा सन् २०२३ मा न्यु मेक्सिकोका महान्यायाधिवक्ताले दायर गरेका थिए। अनुसन्धानका क्रममा अधिकारीहरूले आफूलाई १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका रूपमा प्रस्तुत गर्दै सञ्चालन गरेको गोप्य परीक्षणमा नक्कली खाताहरूले यौनजन्य सामग्री प्राप्त गरेको र वयस्कहरूले सम्पर्क गर्ने प्रयास गरेको पाइएको थियो।
महान्यायाधिवक्ताले यस फैसलालाई बालबालिका र परिवारका लागि ऐतिहासिक जित भन्दै ठूला प्रविधि कम्पनीहरू कानुनभन्दा माथि छैनन् भन्ने स्पष्ट सन्देश दिएको बताएका छन्।
मुद्दाको दोस्रो चरण आगामी मे महिनामा सुरु हुने तय भएको छ, जसमा थप जरिवाना तथा कम्पनीका सञ्चालन र प्लेटफर्ममा सुधारका विषयमा अदालतले निर्णय गर्ने अपेक्षा गरिएको छ। उता, क्यालिफोर्नियामा पनि मेटासहित अन्य प्रविधि कम्पनीविरुद्ध यस्तै प्रकृतिका मुद्दाहरू विचाराधीन छन्, जसले भविष्यमा सामाजिक सञ्जाल नियमनमा व्यापक प्रभाव पार्न सक्ने देखिन्छ।


