काठमाण्डौ — गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने गृह मन्त्रालयका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गर्नुभएको छ।
सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले विभिन्न निकायका उच्च अधिकारीहरूलाई प्रशंसापत्र प्रदान गर्दै उनीहरूको भूमिकाको कदर गर्नुभयो। सम्मानित हुनेहरूमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की रहेका छन्।
यसका साथै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा गृह मन्त्रालयका अन्य उच्च अधिकारीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा गृहमन्त्री अर्यालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुनुमा कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको समन्वय मुख्य कारक रहेको उल्लेख गर्नुभयो। उहाँले यसपटकको निर्वाचनले नयाँ मानक स्थापित गरेको र कुनै पनि प्रकारको हिंसा वा पुनः निर्वाचनको अवस्था नआएको बताउनुभयो।
“निर्वाचन ऐतिहासिक रूपमा सफल भएको छ। समन्वय, सहकार्य र सामूहिक नेतृत्वका कारण सकारात्मक परिणाम प्राप्त भएको हो,” मन्त्री अर्यालले भन्नुभयो, “आगामी दिनमा पनि यही अभ्यासलाई निरन्तरता दिन आवश्यक छ।”
उहाँले केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा संयन्त्र, कमान्ड संरचना र जिम्मेवार अधिकारीहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै उनीहरूको सृजनशीलता र क्षमताको प्रशंसा गर्नुभयो।
कार्यक्रममा रक्षा सचिव केदारनाथ शर्माले समेत निर्वाचन अवधिमा प्रभावकारी सहकार्य र समन्वयकै कारण सफलता हासिल भएको बताउनुभयो।
त्यस्तै, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयको समन्वयकारी नेतृत्वले सुरक्षा व्यवस्थापन र शान्ति सुव्यवस्था कायम राख्न महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो।


