Banner Nepal
साताको सुरुवातमै शेयर बजारमा हरियाली

काठमाण्डौ — साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार नेप्से ५४ दशमलव ५१ अङ्कले बढ्दै एक दशमलव ८९ प्रतिशतको सुधारसहित २ हजार ९३१ दशमलव ५५ बिन्दुमा पुगेको हो।

आज ३६४ कम्पनीका ६ करोडभन्दा बढी कित्ता शेयर २ लाख ४ हजारभन्दा बढी पटक कारोबार हुँदा कुल २३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

समूहगत प्रदर्शनतर्फ व्यापार समूहमा सामान्य गिरावट देखिए पनि अन्य सबै उपसूचक उकालो लागेका छन्। विशेषगरी लघुवित्त समूहमा सबैभन्दा उच्च चार दशमलव २१ प्रतिशतको वृद्धि देखिएको छ।

त्यस्तै, बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहहरू पनि सकारात्मक देखिएका छन्।

आजको कारोबारमा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने केही कम्पनीहरूमा उल्लेखनीय गिरावटसमेत देखिएको छ। सबैभन्दा धेरै घट्नेमा एनआईसी एसिया ब्यालेन्स फन्ड परेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहँदै सबैभन्दा धेरै शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update