Banner Nepal
भोटेबहालमा बसको ठक्कर, दुई भारतीय नागरिकको ज्यान गयो

काठमाडौँ — राजधानीको भोटेबहाल क्षेत्रमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको ओमजनता यातायातको बसले ठक्कर दिँदा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह गम्भीर घाइते भएका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट घाइते भएका उनीहरूलाई शुक्रबार राति राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न बस चालक दोलखा घर भई हाल कपन बस्दै आएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update