Banner Nepal
तेल ट्यांकरमा कार्यरत नेपाली नागरिक इरानी नियन्त्रणमा

काठमाडौँ — उदयपुरमा बसोबास गर्दै आएका एक नेपाली नागरिक इरानी सेनाको नियन्त्रणमा परेको खुलासा भएको छ। महोत्तरी स्थायी घर भई त्रियुगा नगरपालिका–११ मा बस्दै आएका ३० वर्षीय अमृत झा केही दिनदेखि इरानी नियन्त्रणमा रहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।

झा तेल बोक्ने जहाजमा सिप क्याप्टेनका रूपमा कार्यरत थिए। उनी करिब दुई वर्षअघि रोजगारीका लागि दुबई गएका थिए। परिवारका अनुसार, एक साताअघि उनले जहाजमा तेल लोड भइसकेको र दुबई फर्किएपछि सिधै नेपाल आउने जानकारीसहित भ्वाइस सन्देश पठाएका थिए।

तर त्यसको केही समयपछि उनी इरानी सेनाको नियन्त्रणमा परेको खबर आएपछि परिवार स्तब्ध बनेको छ। उनकी दिदी पूजा झाका अनुसार, पक्राउको कारणबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन।

अमृत यसअघि पनि इरानबाट तेल ल्याउने क्रममा जहाज सञ्चालन गर्दै आएका थिए। तर यसपटक भने हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिइएको परिवारको भनाइ छ।

घटनापछि परिवारले परराष्ट्र मन्त्रालयमार्फत उनको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको जनाएको छ।

अमृतको परिवार उदयपुरको गाईघाट क्षेत्रमा व्यापार गर्दै आएको छ। उनका बुबा वन कार्यालयबाट अवकाशप्राप्त कर्मचारी हुन्। हाल अमृतको अवस्था अज्ञात रहेको र उनको सुरक्षित रिहाइका लागि परिवारले सरकारसँग आग्रह गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update