काठमाडौँ । गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य सुधन गुरुङले सांसदको तलब नलिने घोषणा गरेका छन् । पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले आफू सक्षम भएकाले तलब लिन आवश्यक नभएको बताएका हुन् ।
‘तलब खान्नँ, किन खानु जरूरी छ र ? हामी सक्षम छौँ,’ उनले भने ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि ‘हामी नेपाल’ अभियानमार्फत राष्ट्रिय राजनीतिमा उदाएका गुरुङ यसअघि नै नेताहरूले तलब लिन नहुने धारणा सार्वजनिक गरिसकेका थिए । आन्दोलनपछि आयोजित पत्रकार सम्मेलनमा उनले राज्यका नेताहरूलाई तलब सुविधा हटाउनुपर्ने बताएका थिए ।
त्यसैगरी, उनले सरकारी गाडी सुविधा पनि नलिने संकेत गरेका छन् । होटल रोयल टुलिपमा मंगलबार पत्रकारसँग कुरा गर्दै उनले आफ्नै निजी गाडी प्रयोग गर्ने बताएका हुन् ।
हाल संघीय संसद सचिवालयले सांसदलाई मासिक तलब उपलब्ध गराए पनि सवारी साधन भने उपलब्ध गराउने व्यवस्था छैन । गुरुङको यो निर्णयलाई नयाँ राजनीतिक अभ्यासका रूपमा हेरिएको छ ।


