Banner Nepal
शान्तिपूर्ण मतदान सुनिश्चित गर्न मुस्ताङमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास

मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यका साथ नमूना मतदान तथा संयुक्त सुरक्षा अभ्यास गरिएको छ। घरपझोङ गाउँपालिका–४ स्थित जिल्ला खेलकुद विकास कार्यालयको खेलमैदानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय बनाउन पूर्वाभ्यास गरिएको हो। मतदानस्थलमा मतदाताले निर्भीक वातावरणमा मतदान गर्न सकून् भन्ने लक्ष्यसहित नमूना अभ्यास आयोजना गरिएको उनले बताइन्।

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नमूना मतदान गराइएको जानकारी दिए। अभ्यासमा निर्वाचन कर्मचारी, प्रहरी तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो।

अभ्यासका क्रममा मतदानका दिन अपनाइने सम्पूर्ण प्रक्रिया प्रयोग गरिएको थियो। सम्भावित अवरोध, भीड नियन्त्रण, मतपत्र च्यातिने जस्ता घटनालाई ध्यानमा राख्दै तीन तहको सुरक्षा घेराभित्रबाट नियन्त्रण अभ्याससमेत गरिएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, नेपाल प्रहरीका नायब उपरीक्षक छिरिङ कृप्पा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक भेषराज गिरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुख विष्णुहरी पण्डित लगायतको सहभागिता थियो। नमूना मतदानका क्रममा महिला–पुरुषका छुट्टाछुट्टै लाइन, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई प्राथमिकता दिने व्यवस्था गरिएको थियो।

एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा गरी ३९ मतदानस्थल रहेका छन्। जिल्लामा कुल ११ हजार ३२८ मतदाता रहेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update