अमरगढी नगरपालिका–६ का स्थानीयवासीले फोहोर व्यवस्थापन केन्द्र निर्माणको तयारीप्रति असन्तुष्टि जनाउँदै आसन्न निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन्। डडेलधुराको सदरमुकाम क्षेत्रमा पर्ने उक्त वडामा डम्पिङ साइट निर्माणका लागि सार्वजनिक जग्गा खरिद प्रक्रिया अघि बढाइने तयारी भएपछि विवाद चुलिएको हो।
स्थानीयले बिहीबार वडा कार्यालय घेराउ गर्दै फोहोर व्यवस्थापनबारे स्पष्ट निर्णय सार्वजनिक गर्न माग गरेका छन्। माग सम्बोधन नभए मतदान प्रक्रियामा सहभागी नहुने चेतावनीसमेत दिइएको छ।
संघर्ष समितिका अध्यक्ष गङ्गा ताम्राकारका अनुसार प्रारम्भमा उक्त क्षेत्रमा कागती खेती विस्तार गर्ने योजना रहेको जानकारी नगरपालिकाले दिएको थियो। तर पछि सोही स्थानलाई फोहोर व्यवस्थापन केन्द्रका रूपमा प्रयोग गर्ने तयारी थालिएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्। नगरपालिकाले वास्तविक योजना लुकाएर भ्रम सिर्जना गरेको आरोपसमेत स्थानीयको छ।
अमरगढी–६ को भजनपुर नजिकको गुनेगाड क्षेत्र फोहोर व्यवस्थापनका लागि उपयुक्त नभएको दाबी गर्दै त्यहाँ खानेपानीका मुहान, सिँचाइ स्रोत, विद्यालय जाने बाटो तथा बस्ती नजिकै रहेकाले वातावरणीय प्रदूषण र स्वास्थ्य जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।
फोहोर व्यवस्थापन केन्द्र स्थापना भए जनस्वास्थ्य, बालबालिकाको अध्ययन र दैनिक जीवन प्रभावित हुने स्थानीयको भनाइ छ। पटक–पटक विरोध, छलफल र ध्यानाकर्षण गराए पनि सकारात्मक प्रतिक्रिया नआएको उनीहरूको गुनासो छ। बिहीबार आयोजित सभामा करिब तीन सयभन्दा बढी स्थानीय सहभागी भएका थिए। भेलाले सर्वसम्मत रूपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको र माग पूरा नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गरिने संघर्ष समितिले जनाएको छ।


