Banner Nepal
गौरमा कर्फ्युका कारण रौतहट अदालतको सेवा ठप्प

रौतहट जिल्ला अदालतले आइतबारका लागि तय गरिएका सम्पूर्ण न्यायिक कामकारबाही स्थगित गरिएको जनाएको छ। सुरक्षा अवस्था प्रतिकूल बनेपछि अदालतका सेवा अस्थायी रूपमा रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय रौतहट गौरले अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। उक्त आदेशअनुसार आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको छ, जसका कारण अदालतको नियमित सेवा प्रभावित बनेको हो।

अदालतद्वारा जारी सूचनामा आज प्रदान गरिने सबै प्रकारका सेवा स्थगित रहने उल्लेख गरिएको छ। साथै, यस अवधिमा तोकिएका तारिख तथा म्याद नकट्ने जानकारीसमेत दिइएको छ।

फागुन ७ गतेदेखि सुरु भएको हिंसात्मक घटनापछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा कडाइ गरिएको छ। स्थिति सामान्य नहुँदासम्म कर्फ्यु कायम रहने जनाइएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update