Banner Nepal
ज्ञानेन्द्रको सन्देशपछि भक्तपुर–२ का स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

काठमाण्डौ — ज्ञानेन्द्र शाहको पछिल्लो सन्देशपछि भक्तपुर–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका आनन्द कार्की (राजीव) ले आफ्नो उम्मेदवारी फिर्ता लिने र निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।

एक दशकभन्दा बढी समयदेखि राजसंस्था पुनर्स्थापनाको अभियानमा सक्रिय कार्कीले पूर्वराजाको सम्बोधनमा सहमतीय प्रक्रियाबाट अघि बढेर मात्र निर्वाचन गर्नुपर्ने धारणा आएको उल्लेख गर्दै त्यसप्रति सम्मान जनाउँदै उम्मेदवारी त्यागेको बताएका छन्।

निर्णयबारे जानकारी गराउँदै उनले निर्वाचन आयोगलाई पत्रसमेत पठाइसकेको जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफू कुनै दलसँग आबद्ध नभएको उल्लेख गर्दै ‘राजाको आदेश नमान्ने दल होइन, म स्वतन्त्र उम्मेदवार हुँ’ भनी टिप्पणी गरेका छन्।

उनका अनुसार २०७९ को निर्वाचनदेखि नै आफ्नो मुख्य एजेन्डा राजसंस्था पुनर्स्थापनासँग सम्बन्धित रहेको छ। ‘श्री ५ कै मनसायलाई समर्थन, पहल र सहयोग गर्दै सम्बन्धित निकायलाई निर्वाचन बहिष्कार गरेको जानकारी गराएको स्वघोषणा गर्दछु’ भन्दै उनले आफ्नो अडान दोहोर्याएका छन्।

४१ वर्षीय कार्कीले २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनले ८२ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update