Banner Nepal
फागुन २१ को निर्वाचनप्रति शंका हटेको अर्थमन्त्री खनालको दाबी

काठमाण्डौ — अर्थमन्त्री रामेश्वर खनाल ले आगामी फागुन २१ गते निर्धारित निर्वाचन अब नहुने भन्ने आशंका हटेको बताएका छन्। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सरकार गठनका प्रारम्भिक दिनमा देखिएका चुनौतीबीच निरन्तर संवाद र राजनीतिक दलहरूसँगको सहकार्यपछि निर्वाचनको वातावरण बनेको उल्लेख गरे।

उनका अनुसार सरकार बनेको पहिलो पाँच–छ हप्तासम्म निर्वाचन हुने–नहुने विषयमा आम नागरिक र राजनीतिक वृत्तमा गम्भीर संशय रहेको थियो। जेलबाट फरार कैदी, अवैध हतियारको उपस्थिति, पुराना नेतृत्वप्रति अविश्वास र संवादहीनताको अवस्थाले परिस्थिति जटिल बनेको उनले बताए।

यस्तो अवस्थामा सरकारलाई संयमता अपनाउँदै कुनै प्रतिरोधात्मक कदम नचाली विश्वासको वातावरण निर्माण गर्नु ठूलो चुनौती रहेको उनको भनाइ थियो। उक्त चुनौती सामना गर्ने क्रममा पर्यटन क्षेत्रसहित कतिपय कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्न नसकिएको पनि उनले स्पष्ट पारे।

अन्तरिम सरकारले निर्वाचन केन्द्रित वातावरण बनाउन केही बजेटीय विषयहरू कार्यान्वयनमा नलगिएको जानकारी दिँदै उनले मुलुकलाई चुनावतर्फ अग्रसर गराउनु प्राथमिकता रहेको दोहोर्याए।

अर्थमन्त्री खनालले दिगो पर्यटन विकासको आवश्यकता औंल्याउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने दायित्वमा सरकार आंशिक रूपमा सफल भएको दाबी समेत गरे।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update