काठमाण्डौ — महाशिवरात्रीको भोलिपल्ट पशुपतिनाथ मन्दिर परिसरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शव फेला परेपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार मृतक संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी हुन्। उनको शरीरमा चोटपटक र निलडाम देखिएकाले मृत्यु संदिग्ध देखिएको छ। घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशंकासहित शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुने प्रहरीको भनाइ छ।
प्रहरी वृत्त गौशालासँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानमा संलग्न भएको छ। अनुसन्धानका क्रममा घटनामा एक ‘बाबा’को संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ।
प्राप्त विवरणअनुसार शिवरात्रीका अवसरमा पशुपति आएका एक बाबाको मोबाइल हराएको थियो। उक्त मोबाइल चोरीको आरोप मृतक गिरीमाथि लगाइएको थियो। स्रोतका अनुसार बाबाले गिरीलाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएको बुझिएको छ। मोबाइल नभेटिएपछि प्रहरीले छाडेका व्यक्तिलाई बाबाले पुनः आफ्नो नियन्त्रणमा लिएको र रातभर दुर्व्यवहार गरेको आशंका गरिएको छ।
लामो समय भारतको बनारसमा बस्दै आएका ती बाबा पछिल्लो समय नेपालमै बस्दै आएका थिए। राजवंशी थरका उनी नेपाली नागरिक भएको प्रहरीको भनाइ छ। घटनापछि उनी फरार रहेका छन्। प्रहरीका अनुसार फरार व्यक्तिको पहिचान भइसकेको छ र खोजी कार्य जारी छ।
घटनाबारे औपचारिक धारणा सार्वजनिक नभए पनि अनुसन्धान प्रक्रिया अघि बढिरहेको प्रहरी स्रोतले जनाएको छ।


