काठमाण्डौ — आगामी निर्वाचनलाई लक्षित गर्दै वाम बुद्धिजीवी एवं पेसाकर्मीहरूको १५ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका तारा चिन्ह वाहक उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित पूर्व राजदूत विष्णु पुकार श्रेष्ठको संयोजकत्वमा समिति निर्माण गरिएको जानकारी दिइएको छ।
समितिको सहसंयोजकमा प्रेमलकुमार खनाल र सचिवमा कृष्ण केसी चयन भएका छन्। मूल समितिमा प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासंघ, इन्जिनियरिङ एशोसिएसन, कानुन व्यवसायी संगठन लगायत विभिन्न पेशागत संस्थाका केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मका पदाधिकारी तथा सदस्यहरू सहभागी रहेका जनाइएको छ।
समितिको कार्यलाई प्रभावकारी बनाउन ५५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। सचिवालयमा आर्थिक परिचालन संयोजकको जिम्मेवारी लक्ष्मीप्रसाद पण्डितलाई दिइएको छ भने विभिन्न क्षेत्रका विज्ञ तथा पेशाकर्मीहरू सदस्यका रूपमा रहेका छन्।
समितिले जारी गरेको अपिलमा गणतन्त्र, समावेशी लोकतन्त्र तथा शिक्षा, स्वास्थ्य, आवास, स्वच्छ खानेपानी, खाद्यान्न, सामाजिक सुरक्षा र रोजगारीजस्ता मौलिक अधिकार सुनिश्चित गर्न नेपाली कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको चर्चा गरिएको छ। अब उत्पादन र रोजगारी वृद्धि गर्दै समाजवादी आधार निर्माण गर्न समाजवादी क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै पार्टीको प्रतिबद्धता पत्रलाई सफल बनाउन आह्वान गरिएको छ।
नवउदारवादी आर्थिक नीतिका कारण गरिबी, बेरोजगारी र आय असमानता बढेको दाबी गर्दै १६४ वटै निर्वाचन क्षेत्रमा तारा चिन्हका उम्मेदवारलाई विजयी गराउन देशभरका बुद्धिजीवी, शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, श्रमिक, कर्मचारी र कानुन व्यवसायीहरूलाई एकजुट हुन आग्रह गरिएको छ।
यसैबीच आगामी फाल्गुन ९ गते दिउँसो १:३० बजे काठमाण्डौस्थित राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा प्रतिबद्धता पत्रमाथि विशेष कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा क. पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, डा. दीपेन्द्रबहादुर क्षेत्री र डा. महेश मास्के लगायतले सम्बोधन गर्ने जनाइएको छ। कार्यक्रममा उपत्यकाका बुद्धिजीवी, पेसाकर्मी तथा पत्रकारहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।



