दमक/ हुन त हाम्रो देशमा जनताबाट प्रत्यक्ष प्रधानमन्त्री चुन्ने व्यवस्था छैन । बहुमत प्राप्त दल वा बहुमत जुटाउने दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने संवैधानिक तथा कानूनी व्यवस्था छ । तर केहि दल र उम्मेद्वारहरु भने भावि प्रधानमन्त्री भन्दै घोषणा गरेर चुनावी मैदानमा देखिएका छन् ।
खासगरि तीन ओटा पुराना दलका प्रमुख नेताले आफुलाई भावि प्रधानमन्त्री दावि गरेका छन् भने नयाँ दुई उम्मेद्वार पनि यहि दावि सहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले आफुलाई भावि प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । यस्तै नयाँ अनुहारका रुपमा रास्वपाका बालेन्द्र साह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ् पनि आफुलाई भावि प्रधानमन्त्री भनि रहेका छन् । यि मध्ये पूर्वप्रधानमन्त्री समेत रहेका ओली र साहाको निर्वाचन क्षेत्र भने एउटै हो, झापा क्षेत्र नं. ५ ।
पटक पटक प्रधानमन्त्री र सात पटक झापाबाट सांसद भइसकेका ओली फेरी सांसदमा बिजयी भएर अगामी प्रधानमन्त्री बन्ने दाबी एमालेले गर्दैआएको छ । यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजिनामा गरेर ओलीसंग प्रतिस्पर्धा गर्न झापा ५ मा आएका रास्वपा वरिष्ठ नेता शाह पनि यहि भनि रहेका छन् । यहाँ २०७९ को अवस्थाको हेर्ने हो भने, ओलीले ५२ हजार ३ सय १९ मत ल्याएका थिए । यस्तै कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याउँदा ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जितेका थिए । त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका थिए । एमालेले आफ्नो बिरासत, संगठन, विकास, प्रतिवद्ध कार्यकर्ता आदिका कारण चुनाव फेरि पनि जित्ने भरि रहँदा रास्वपा उसले भन्ने गरेको पुराना दल र नेता प्रतिको असन्तुष्टिका कारण जित्ने तर्कमा छ ।
यस्तै अर्का भावि प्रधानमन्त्री भनिएका कांग्रेस सभापति थापा २०७९ सालको निर्वाचनमा काठमाडौं–४ बाट बिजयी भएका थिए भने यो निर्वाचनमा सर्लाही–४ बाट प्रतिस्पर्धामा छन् । काठमाडौंबाट मधेस छिरेका थापाले आफू काठमाडौं–४ बाटै सहजरुपमा निर्वाचित हुनसक्ने अवस्था भए पनि मधेस ओर्लिएको बताएका छन् ।
यो क्षेत्रबाट २०७९ सालको निर्वाचनमा कांग्रेसवाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेर बिजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार भएका छन् । गत निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिदै बिजयी भएका सिंहले २० हजार १७ मत ल्याएका थिए । कांग्रेस परिवर्तन भएर नविन रुपमा आएकाले थापाले आफ्नो जीतलाई सहज आँकलन गरि रहेका छन् भने सिंह आफ्नो पकड क्षेत्रबाट उनलाई हराउने लक्ष्यमा छन् ।
यस्तै विभिन्न र समूह मिलेर बनेको नेकपाले पनि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको आगामी उम्मेदवार भनेको छ । ३ पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड यसपटक गोरखा छाडेर रुकुम पूर्वबाट प्रतिस्पर्धा गर्दैछन् । उनले हरेक जसो संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गरेर प्रतिस्पर्धा गर्दै आएका छन् ।
त्यसो त बालेन्द्र र हर्क दुवै स्वतन्त्र रुपमा मेयरमा बिजयी भएका कारण कुनै समय उनीहरुको सहकार्यको अपेक्षा गर्नेहरु धेरै थिए । तर अन्ततः हर्क बालेन्द्रको कटु आलोचकको रुपमा देखिएका छन् । उनले श्रम संस्कृति पार्टी निर्माण गरि आँफैलाई भावि प्रधानमन्त्री दावि गर्दै निर्वाचनमा होमिएका छन् । साम्पाङ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार भएका छन् ।
हुन त, यि मध्ये कसैले जिति हाले पनि प्रधानमन्त्री बन्ने पक्का भने हुँदैन । पहिलो कुरो त एकल सरकार बनाउन एकल बहुमत ल्याउनु पर्यो । त्यस पछि पार्टी भित्रैबाट पनि संसदीय दलको रुपमा चयन हुनु पर्यो । त्यस पछि प्रधानमन्त्री बन्ने प्रकृया शुरु हुन्छ । यस्तै कुनै दलको एकल बहुमत नआएको खण्डमा अन्य दलहरुलाई समर्थनमा ल्याएर बहुमत जुटाउन सक्नु पर्यो, त्यहाँ पनि संसदीय दलमा निर्वाचित हुनु त परिनै हाल्यो । त्यसैले गर्दा कोहि व्यक्तिले सांसद जित्दैमा प्रधानमन्त्री बनि हाल्ने कानूनी व्यवस्था नेपालमा छैन । बरु आफुलाई भावि प्रधानमन्त्री घोषणा गरेर चुनावी प्रतिष्पर्धामा जाने विषय चुनावी प्रचारको सजिलो हतियार भने बनेको देखिन्छ ।

