काठमाडौँ । रवि लामिछानेले धनगढीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै यसपटकको निर्वाचनलाई परिवर्तनको ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले विशेषगरी भारतमा रोजगारी गरिरहेका सुदूरपश्चिमका नागरिकलाई स्वदेश फर्केर मतदानमा सहभागी हुन आग्रह गरे।
उनले विगतका निर्वाचनमा नेताहरू विजयी भए पनि जनताको अपेक्षा पूरा नभएको टिप्पणी गर्दै यसपटक जनतालाई जिताउने अभियानमा आफूहरू लागेको बताए। व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय आकांक्षालाई केन्द्रमा राखेर अघि बढेको उनको दाबी थियो।
पुराना राजनीतिक दलप्रति आस्था राख्ने मतदाताको सम्मान गर्दै उनले देशको भविष्यका लागि मत विभाजन नगर्न अनुरोध गरे। अहिलेको अवसर ऐतिहासिक भएको उल्लेख गर्दै उनले परिवर्तनको यात्रामा एकताबद्ध हुन आह्वान गरे।
मतदातालाई भ्रम र प्रचारबाट सचेत रहन सुझाव दिँदै उनले विगतका नेतृत्वसँग जवाफदेहिता माग्न आग्रह गरे। आफूहरू निर्माण र रूपान्तरणका लागि आएको उल्लेख गर्दै परिवर्तन सम्भव रहेको विश्वास व्यक्त गरे।

