काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै व्यवस्थाका खराब पक्ष त्याग्नुपर्ने बताएका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले राष्ट्रिय समस्या समाधान नगरी निर्वाचन प्रक्रियामा जानु उपयुक्त नहुने धारणा सार्वजनिक गरेका हुन्।
देश अस्वाभाविक अस्थिरताको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले जुनसुकै व्यवस्थाका सकारात्मक पक्ष आत्मसात् गर्नुपर्ने तर नकारात्मक पक्षलाई परित्याग गर्नुपर्नेमा जोड दिए। मुलुकको भौगोलिक संरचना र सामाजिक चरित्र सुहाउँदो शासन प्रणालीले मात्र दीर्घकालीन सकारात्मक परिणाम दिने उनको तर्क थियो।
आवधिक निर्वाचन प्रजातन्त्रको स्वाभाविक अभ्यास भए पनि हालको परिस्थितिमा चुनावको औचित्यमाथि प्रश्न उठाउँदै उनले आम जनभावना पहिले राष्ट्रिय संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए। राष्ट्रिय सहमति, समावेशी समझदारी र द्वन्द्वरहित वातावरण निर्माणपछि मात्र निर्वाचनमा जानुपर्ने उनको सुझाव छ।
वर्तमान राजनीतिक नेतृत्वप्रति टिप्पणी गर्दै उनले भागबण्डा र आलोपालोको प्रवृत्तिले देश अघि बढ्न नसक्ने उल्लेख गरे। अधिकारमुखी सोच बढ्दै गएको र कर्तव्यप्रति बेवास्ता भइरहेको उनको आरोप छ। बाध्यात्मक संरचनाले देशलाई जकडेको उल्लेख गर्दै आत्मनिर्भर र उत्तरदायी नेतृत्व आवश्यक रहेको उनले संकेत गरे।
विगतका आन्दोलन र परिवर्तनबाट देशले के प्राप्त गर्यो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने समय आएको उनको भनाइ छ। राष्ट्रिय अस्मिता र अस्तित्वमाथि चुनौती देखिएको उल्लेख गर्दै आपसी वैमनस्य अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
हालै झापा बसाइपछि काठमाडौँ फर्कँदा जनताबाट प्राप्त समर्थनले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै उनले गरिबी र अस्थिरतालाई देशको प्रमुख चुनौतीका रूपमा चित्रण गरे।
प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याउने त्रिभुवन तथा ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विश्व समुदायसमक्ष नेपालीको गौरव उचाल्ने व्यवस्थाको आवश्यकता औँल्याएका छन्।


