काठमाडौँ — नरेन्द्र मोदी र इमानुएल म्याक्रोन बीच मङ्गलबार मुम्बईमा भेटवार्ता हुने भएको छ। सो अवसरमा दुवै नेताले ‘भारत–फ्रान्स इनोभेसन वर्ष २०२६’ को संयुक्त शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।
फेब्रुअरी १७ देखि १९ सम्म भारतको औपचारिक भ्रमणमा रहेका म्याक्रोन प्रधानमन्त्री मोदीको निमन्त्रणामा आयोजित ‘एआई इम्प्याक्ट’ शिखर सम्मेलनमा सहभागी हुनेछन्। फेब्रुअरी १७ दिउँसो मुम्बईस्थित लोक भवनमा द्विपक्षीय वार्ता हुने आधिकारिक जानकारी दिइएको छ।
भेटवार्तामा भारत–फ्रान्स रणनीतिक साझेदारीअन्तर्गत हालसम्म भएको प्रगतिबारे समीक्षा गरिने र नयाँ तथा उदीयमान क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ। साथै क्षेत्रीय तथा वैश्विक महत्वका मुद्दामा समेत विचार आदान–प्रदान हुने अपेक्षा गरिएको छ।
म्याक्रोनको भ्रमण रक्षा, अन्तरिक्ष, आणविक ऊर्जा, जलवायु परिवर्तन, शिक्षा र जनता–जनता सम्बन्धका क्षेत्रमा अघि बढिरहेको सहकार्यको निरन्तरताका रूपमा हेरिएको छ। मुम्बईमा समझदारीपत्र आदान–प्रदानका कार्यक्रम तय भएका छन् भने ताजमहल प्यालेस होटल मा भारत–फ्रान्स इनोभेसन फोरम आयोजना हुनेछ। साथै गेटवे अफ इन्डिया मा इनोभेसन तथा सांस्कृतिक स्मारक उद्घाटन गर्ने कार्यक्रम छ।
म्याक्रोन र प्रथम महिला ब्रिगिट म्याक्रोनले मुम्बई र नयाँदिल्ली भ्रमण गर्ने कार्यक्रम रहेको छ। इनोभेसन वर्ष २०२६ दुवै देशमा वर्षभर मनाइने र यसले प्रविधि, अनुसन्धान तथा जनस्तरको सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।
प्रधानमन्त्री मोदीले शिखर सम्मेलनअघि अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डललाई स्वागत गर्दै ‘ग्लोबल एआई इम्प्याक्ट एक्सपो २०२६’ को उद्घाटन गर्ने तयारी गरेका छन्। फेब्रुअरी १६ देखि २० सम्म नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय एआई शिखर सम्मेलनले विश्वव्यापी एआई भविष्यका विषयमा महत्वपूर्ण विमर्श अघि बढाउने विश्वास गरिएको छ।


