काठमाडौँ — भारत सरकारले नेपालस्थित पशुपतिनाथ मन्दिर र झारखण्डको देवघरमा अवस्थित बैद्यनाथधाम जोड्ने उच्चगति सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ। काठमाडौँबाट सुरु हुने यो अन्तरदेशीय करिडोर धार्मिक पर्यटन प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
भारतको केन्द्र सरकारले भागलपुर हुँदै जाने उक्त करिडोर निर्माणका लागि सम्बन्धित निकायलाई तयारी थाल्न निर्देशन दिइसकेको जनाएको छ। बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले विधानसभामा जानकारी दिँदै सन् २०२६/२७ को बजेटमा यस परियोजनाका लागि ८२ अर्ब ६० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको बताए।
मन्त्री जैसवालका अनुसार ‘पशुपतिनाथ–बैद्यनाथ हाई–स्पिड करिडोर’ काठमाडौँबाट सुरु भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ। त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला पार गर्दै झारखण्डको देवघरस्थित बैद्यनाथधामसम्म पुग्नेछ। करिब २४० किलोमिटर लम्बाइको यो करिडोर सुल्तानगञ्ज–अगुवानीघाटमा गंगा नदीमाथि निर्माणाधीन पुल हुँदै गुज्रिनेछ।
यसअघि करिब सात महिना अगाडि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी सँग भेट गरी परियोजना प्रस्ताव गरेका थिए। श्रावणी मेला तथा काँवर यात्राका क्रममा सुल्तानगञ्जबाट जल लिएर पैदल बैद्यनाथधाम जाने श्रद्धालुको ठूलो चाप रहने भएकाले यो करिडोरलाई विशेष महत्त्व दिइएको हो। साथै, भारतीय तीर्थयात्रीहरू पशुपतिनाथ दर्शनका लागि नेपाल आउने क्रमलाई समेत यसले सहज बनाउने अपेक्षा गरिएको छ।
परियोजनाअन्तर्गत पैदल यात्रीका लागि छुट्टै ‘सर्भिस रोड’ निर्माण गर्ने योजना छ, जसले नाङ्गो खुट्टा हिँड्ने श्रद्धालुलाई सुविधा दिनेछ। यसले धार्मिक पर्यटनसँगै नेपाल, बिहार र झारखण्डबीच व्यापारिक तथा आर्थिक सम्बन्ध सुदृढ गर्ने विश्वास गरिएको छ।
भागलपुरका जिल्ला अधिकारी डा. नवल किशोर चौधरीका अनुसार मार्गचित्र तयार भइसकेको छ र मन्त्रालयबाट विस्तृत प्रस्ताव प्राप्त भएलगत्तै कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।


