Banner Nepal
चुनावी माहोलले सेयर बजार प्रभावित, अधिकांश कम्पनीको मूल्य घट्यो

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धितोपत्र बजारमा उत्साह घट्न थालेको देखिएको छ। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी अभियानमा केन्द्रित भएका छन्, जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको विश्लेषण गरिएको छ।

चुनावी गतिविधिमा संलग्न हुन लगानीकर्ताले सेयर बिक्री गर्न थालेपछि बजारमा बिक्री चाप बढेको ब्रोकरहरूले बताएका छन्। उनीहरूका अनुसार खरिदभन्दा बिक्री प्रवृत्ति बढेकाले बजारमा अपेक्षित सुधार देखिएको छैन। निर्वाचनअघि बजार सकारात्मक दिशातर्फ जाने सम्भावना न्यून रहेको उनीहरूको आकलन छ। चुनावी परिणामपछि मात्र बजारले स्पष्ट प्रतिक्रिया दिने अपेक्षा गरिएको छ।

फागुन महिनाको पहिलो कारोबार दिन सोमबार नेप्से सूचक ८.१६ अंकले घटेर २६६२.१० बिन्दुमा कायम भएको छ। कारोबार सुरु हुँदा २६७१.०७ बिन्दुमा रहेको सूचक दिनभर ओरालो लाग्दै बन्द भएको हो। यसअघि गत बिहीबार सूचक करिब ८ अंकले उकालो लागेको थियो।

सोमबार कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल १६३ कम्पनीको मूल्य घट्दा ८६ कम्पनीको मूल्य बढेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ। रिलायन्स स्पिनिङ मिल्स, बुद्धभूमि हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको जानकारी नेप्सेले दिएको छ।

समूहगत परिसूचकतर्फ पनि अधिकांश उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा गिरावट देखिएको छ। यद्यपि वित्त, होटल तथा उत्पादनमूलक समूहमा भने सामान्य वृद्धि भएको छ।

कारोबार रकम पनि घटेको छ। सोमबार ३३५ कम्पनीका ८० हजार ५५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएका छन्। यो रकम गत बिहीबारको तुलनामा कम हो, जस दिन १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update