Banner Nepal
डारफरको फासेरमा हिंसा, ६ हजारभन्दा बढीको ज्यान गएको राष्ट्रसंघको प्रतिवेदन

काठमाण्डौ । सुडानको पश्चिमी क्षेत्रडारफर स्थित फासेर सहरमा भएको व्यापक हिंसात्मक आक्रमणमा कम्तीमा छ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन दिनसम्म चलेको उक्त आक्रमणमा सडकमा गोली प्रहार, समूहगत कुटपिट, अपहरण, बलात्कार तथा अन्य अमानवीय गतिविधि भएका छन् । सामान्य नागरिक, महिला र बालबालिकासमेत मारिएका छन् ।

प्रतिवेदनमा शरणस्थल, विद्यालय, अस्पताल र विश्वविद्यालय परिसर आक्रमणको मुख्य लक्ष्य बनेको उल्लेख छ । भाग्ने क्रममा हजारौं नागरिक मारिएका वा घाइते भएका थिए । घटनालाई विशेष जातीय समुदाय लक्षित सामूहिक हत्या तथा अत्याचारको रूपमा चित्रित गरिएको छ ।

हिंसाका क्रममा घर तथा संरचना ध्वस्त पारिनुका साथै जबरजस्ती नजरबन्द, यातना र शारीरिक दुर्व्यवहारका घटना भएको जनाइएको छ । अस्पतालमा उपचाररत बिरामी, सुत्केरी महिला र स्वास्थ्यकर्मीसमेत आक्रमणको सिकार बनेका छन् । विश्वविद्यालय र छात्रावास क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले उक्त घटनालाई युद्ध अपराध र मानवताविरुद्धको अपराधका रूपमा लिनुपर्ने चेतावनी दिँदै जिम्मेवार उच्च कमाण्डर र सम्बद्ध व्यक्तिमाथि कारबाही गर्न आग्रह गरेको छ । यो घटना सुडानमा जारी गृहयुद्धको हिस्सा भएको र त्यसले लाखौं मानिस विस्थापित हुनुका साथै खाद्य तथा स्वास्थ्य संकटलाई थप गम्भीर बनाएको प्रतिवेदनमा उल्लेख छ ।

डारफर क्षेत्रमा सुरक्षा र मानवअधिकारको अवस्था चिन्ताजनक बनेको भन्दै पीडित समुदायलाई राहत, सुरक्षा र न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको सक्रिय भूमिका आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update