Banner Nepal
आन्तरिक एकता सुदृढ बन्दै गएको कांग्रेस दाबी

काठमाण्डौ । Nepali कांग्रेसले निर्वाचन प्रचारप्रसारका क्रममा सभ्य, सुसंस्कृत र सन्तुलित शैलीलाई प्राथमिकतामा राखेको जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले शनिबार जारी गरेको विज्ञप्तिमा चरम प्रियतावादको प्रभावमा परेर शान्तिप्रिय नागरिकको भावना भड्काउने गतिविधि कांग्रेसबाट नहुने स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा आमसञ्चार, विद्युतीय तथा डिजिटल माध्यमहरूमा पार्टीको प्रस्तुति तर्क, विवेक र पारस्परिक सम्मानमा आधारित रहने उल्लेख गरिएको छ । साथै, निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति पूर्ण सम्मान व्यक्त गर्दै यसको कार्यान्वयनका क्रममा केही दल र तिनका समर्थकबाट भइरहेको खुला उल्लङ्घनप्रति प्रमाणसहित ध्यानाकर्षण गराइएको जनाइएको छ ।

प्रवक्ता चालिसेले आचारसंहिताको निःसर्त पालना गर्न कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचनअघि र पछि पनि यही समाजमा सहअस्तित्व कायम राख्नुपर्ने भएकाले अशोभनीय तथा अराजक व्यवहार कसैबाट पनि स्वीकार्य नहुने बताएका छन् ।

विशेष महाधिवेशनको सन्दर्भ जोडेर पार्टीभित्र नेतृत्व वा तल्लो तहमा असमञ्जसता रहेको भन्ने चर्चा अस्वीकार गर्दै कांग्रेस आन्तरिक एकताका दृष्टिले थप सुदृढ हुँदै गएको दाबी गरिएको छ । निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेताहरू निर्वाचन क्षेत्र–क्षेत्रमा सक्रिय रहँदै सहयोग र निर्देशनमा संलग्न रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update