काठमाण्डौ । सोमपाल कामीले आइसिसी टी–२० विश्वकप २०२६ मा प्लेइङ–११ मा स्थान बनाउँदै नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थपेका छन् । वेस्ट इन्डिजविरुद्धको खेलमा मैदान उत्रिएसँगै उनी नेपालका लागि तीन संस्करणको टी–२० विश्वकप खेल्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि इंग्ल्यान्ड र इटालीविरुद्धको खेलमा अन्तिम–११ मा नपरेका सोमपाल आज ललित राजवंशीको स्थानमा समावेश भएका छन् ।
३० वर्षीय बलिङ अलराउन्डर सोमपाल नेपाली टोलीका सबैभन्दा अनुभवी सदस्यका रूपमा परिचित छन् । दाहिने हाते ब्याटिङ र मध्यम–तीव्र गतिका बलिङ गर्ने उनले नयाँ बल सम्हाल्दै विपक्षीमाथि दबाब सिर्जना गर्ने जिम्मेवारी लिने गरेका छन् ।
फेब्रुअरी २, १९९६ मा गुल्मीमा जन्मिएका सोमपालको बाल्यकाल भारतको पञ्जाबमा बितेको थियो । क्रिकेट खेल्ने अभिलाषासहित सन् २०१३ को अन्त्यमा १७ वर्षको उमेरमा नेपाल फर्किएका उनले त्यही वर्ष राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा हङकङविरुद्ध डेब्यू गरेका सोमपाल त्यतिबेला टोलीका कान्छा सदस्य थिए ।
विश्वकप २०१४ मा उनले हङकङ र अफगानिस्तानविरुद्ध समान दुई–दुई विकेट लिँदै प्रभाव छोडेका थिए । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न प्रतियोगितामा समेत तीन खेलमा तीन विकेट लिएर योगदान दिएका थिए । दुई संस्करणमा सात खेल खेल्दै सात विकेट लिएका उनी टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुन् ।
नेपालले एकदिवसीय मान्यता पाउँदा पनि सोमपालले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय खेलमा समेत उनले सहभागिता जनाएका थिए ।
संघर्षपूर्ण प्रारम्भ गरेका सोमपालसँग सुरुआती दिनमा क्रिकेट पोशाकसमेत थिएन । विद्यालय प्रतियोगितामा सेतो ड्रेस अभावमा खेल्न नपाएको सम्झना उनीसँग अझै ताजा छ । पारिवारिक आर्थिक अवस्थाका बाबजुद उनले क्रिकेटप्रतिको लगाव त्यागेनन् ।
सामाजिक सञ्जालमार्फत सम्पर्क भएका क्रिकेटर अर्जुन अधिकारीको सुझावपछि नेपाल आएका सोमपालले फ्यान क्लबबाट खेल्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका थिए । यू–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनपछि तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले उनलाई तीव्र गतिका बलरको रूपमा अघि बढ्न प्रेरित गरेका थिए ।
२०१४ मा विश्वकप छनोटअन्तर्गत युएईविरुद्ध डेब्यू गरेका सोमपालले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । डिभिजन–३ देखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगितासम्म उनले निरन्तर योगदान दिँदै आएका छन् ।
अब २०२६ को विश्वकपमा टोलीका सबैभन्दा सिनियर खेलाडीको भूमिकामा रहेका सोमपाल भारतमै आयोजना हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रँदैछन् ।


