काठमाण्डौ । केपी शर्मा ओली पुनः झापा केन्द्रित चुनावी कार्यक्रममा सहभागी हुन आज भद्रपुर अवतरण गर्ने भएका छन् । बिहान १०ः२० बजे काठमाडौंबाट उडेर भद्रपुर विमानस्थल पुग्ने तालिका तय गरिएको छ । यसअघि माघ २३ गते झापा पुगेका ओलीले सात दिनको अवधिमा करिब ८० गाउँको भ्रमण पूरा गरेर काठमाडौँ फर्किएका थिए ।
आजको कार्यसूचीअनुसार अध्यक्ष ओली विभिन्न समुदाय र पेशागत समूहसँग संवादमा जुट्ने छन् । शिक्षकहरूको भेला, धिमाल समुदायसँग अन्तरक्रिया तथा मुस्लिम समुदायसँगको भेटघाट कार्यक्रम तय गरिएको छ । त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिएका छन् ।
एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहनेछन् । सो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा घरदैलो अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ । दैनिक कम्तीमा ६ देखि ७ स्थानमा पुग्ने गरी कार्यक्रम तालिका मिलाइएको जनाइएको छ ।
एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोकबाट कार्यक्रम सुरु हुनेछ । त्यसपछि ११ः५० बजे दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर तथा अपराह्न ४ बजे सोही वडाको आमचोकमा कार्यक्रम आयोजना गरिएको छ । सबै स्थानमा अध्यक्ष ओलीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइएको उनले बताएका छन् ।


