काठमाण्डौ — डोल्पामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित जिउ गाउँबाट त्रिपुराकोटतर्फ आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेरो जिप बिहान करिब साढे १० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिउ गाउँका अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको ज्यान गएको पुष्टि गरिएको छ। सोही स्थानका करिब ३८ वर्षीय सुकलाल गुरुङ, त्रिपुरासुन्दरी–३ सुँ गाउँकी ४५ वर्षीया रमा बोहोरा तथा चालक घाइते भएका छन्।
घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ।
जिप चालक सल्यानको कुमाख गाउँपालिका निवासी २५ वर्षीय एलिस बुढाथोकीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


