काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा मतदाताले गम्भीर र विवेकपूर्ण निर्णय लिनुपर्ने बताएका छन्। दाङको घोराहीमा कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यक्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार सहभागी थिए।
सम्बोधनका क्रममा शर्माले मतदातासामु प्रश्न राख्दै विगतका निर्वाचन परिणामबाट पाठ सिक्नुपर्ने बताए। उनका अनुसार मुख्य विषय कुन दल विजयी हुन्छ भन्नेभन्दा पनि जटिल परिस्थितिबाट देशलाई कसले स्पष्ट मार्गदर्शन दिन सक्छ भन्ने हो।
पहिलो संविधानसभा निर्वाचन २०६४ पछि कांग्रेस दोस्रो शक्ति बनेको प्रसंग उल्लेख गर्दै उनले त्यस अवधिमा संविधान निर्माणमा ढिलाइ भएको स्मरण गरे। यस्तै, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो शक्ति बनेपछि दुई वर्षभित्र संविधान जारी भएको उदाहरण प्रस्तुत गरे।
उनले विगतमा विभिन्न राजनीतिक शक्ति, समुदाय र विचारलाई समेट्दै निकास दिन कांग्रेस सक्षम रहेको दाबी गरे। बदलिँदो पुस्ताको अपेक्षा र वर्तमान चुनौतीलाई समन्वय गर्दै देशलाई नयाँ भरोसाको चरणमा लैजान सक्ने क्षमता कांग्रेससँग रहेको उनको भनाइ थियो।


