Banner Nepal
जङ्गलबाट पक्राउ परे प्रहरी हवल्दार घर्ती हत्या घटनाका योजनाकार

काठमाण्डौ । दार्चुलाको सामुदायिक प्रहरी सेवा केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा संलग्न भनिएका अर्का एक आरोपित पक्राउ परेका छन्। घटनाका मुख्य योजनाकारका रूपमा उल्लेख गरिएका आशिष पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पाललाई दुहुँ गाउँपालिकास्थित जङ्गल क्षेत्रबाट पक्राउ गरिएको हो। यसअघि मंगलबार राति राजेन्द्र डडाललाई नौगाडको होपरिगाड क्षेत्रबाट पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार घटनामा संलग्न रहेका अन्य दुई जनाको खोजी कार्य जारी छ। घटनापछि २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस्तै, अस्मिता बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृतक घर्तीको शव जिल्ला अस्पताल दार्चुलामा परीक्षणपछि अन्तिम संस्कार गरिएको छ। चिकित्सकका अनुसार टाउकोमा धारिलो हतियार प्रहारका कारण मृत्यु भएको देखिएको छ। जिल्ला अस्पताल दार्चुलाका डाक्टर रविन्द्र भट्टराईले टाउकोको पछाडिबाट हतियार प्रहार भएको पाइएको जानकारी दिए।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update