Banner Nepal
चार दिनको गिरावटपछि नेप्से थामियो

काठमाण्डौ । लगातार गिरावटपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार लगभग स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुआती समयमा सामान्य वृद्धि देखिए पनि अन्त्यमा सूचक ०.०४ अंकले घट्दै २६६२.१० बिन्दुमा कायम भयो। कारोबार सुरु हुँदा नेप्से २६६२.१४ अंकमा रहेको थियो।

यसअघि आइतबार १०.२४ अंक, सोमबार २६.०५ अंक र मंगलबार १०.२५ अंकले सूचक घटेको थियो। चार दिनको उतारचढावपछि बुधबार बजार सूचक स्थिर देखिए पनि धेरै कम्पनीको सेयर मूल्य घट्दा उल्लेख्य सुधार हुन सकेन।

नेप्सेका अनुसार बुधबार १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको मूल्य बढेको छ। १३ कम्पनीको सेयर मूल्य भने यथावत् रहेको छ।

समूहगत परिसूचकतर्फ वित्त ६.३५, होटल तथा पर्यटन ४७.०७, जीवन बीमा २९.३१, उत्पादनमूलक ४२.५५, लघुवित्त ३.३३, सामूहिक लगानी कोष ०.०७, अन्य ५.७६ र व्यापार समूह ८.७७ अंकले घटेका छन्।

यता बैंकिङ समूह १.४९, विकास बैंक १०.१२, जलविद्युत् १६.७५, लगानी ०.०७ र निर्जीवन बीमा ९.६५ अंकले उकालो लागेका छन्।

कारोबार रकमतर्फ भने सुधार देखिएको छ। बुधबार ३२९ कम्पनीको ८२ हजार ४५० कारोबारमार्फत २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ।

यसअघिको दिन मंगलबार ३२४ कम्पनीको ८९ हजार ८३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको थियो। कारोबार रकममा आएको वृद्धि बजारमा लगानीकर्ताको सक्रियता केही बढेको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update