साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै २६९८.४४ बिन्दुमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से १०.२५ अंक अर्थात् ०.३७ प्रतिशतले घटेको हो।
कारोबार भएका अधिकांश उपसूचकहरूमा गिरावट देखिएको छ। ‘अन्य’ र लगानी उपसूचकबाहेक सबै समूह राताम्मे बनेका छन्। तीमध्ये होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घट्दा सो समूहका लगानीकर्ताले उच्च क्षति व्यहोरेका छन्।
आइतबार ३३० वटा धितोपत्रमा १ लाख ११ हजार ९७८ पटक कारोबार भई २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
मूल्य वृद्धितर्फ हेर्दा सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। यसका साथै रिडी पावर कम्पनी, खानीखोला हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन्।
घटावटतर्फ कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ। कर्पोरेट विकास बैंक र नारायणी विकास बैंकको सेयर मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। कारोबार रकमका आधारमा सुपर मादी हाइड्रोपावर सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ।


