काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा स्थायित्व र दीर्घकालीन शासनका लागि आफ्नो पार्टीलाई एकल बहुमत दिन मतदातासँग आग्रह गर्नुभएको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँगको भेटघाटमा उहाँले विगतमा नेताहरूले गरेका प्रतिबद्धता पूरा नगरी सहजै पन्छिन नपाइने धारणा व्यक्त गर्नुभयो ।
लामिछानेले पार्टी सभापतिको हैसियतले देशका विभिन्न स्थानमा पुग्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै यसपटक चितवन–२ लाई मात्र केन्द्रमा राखेर चुनाव जित्नु पर्याप्त नहुने स्पष्ट पार्नुभयो । देशव्यापी परिवर्तनका लागि समग्र राष्ट्रलाई जित्नुपर्ने अवस्था आएको भन्दै उहाँले सो निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधिमार्फत् प्रचार–प्रसार अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
रास्वपाले केही सिट जितेर मात्रै अपेक्षित परिवर्तन सम्भव नहुने बताउँदै लामिछानेले कम्तीमा एकल बहुमतको सरकार गठन आवश्यक रहेको दोहोर्याउनुभयो । उहाँका अनुसार एकल बहुमतको सरकार बनेमा पाँच वर्षसम्म स्थिर शासन दिन सकिनेछ र त्यस अवधिमा गरिएको कामले नै पार्टीको मूल्याङ्कन गर्नेछ ।
“हामीले धेरै माग गरेका छैनौँ, केवल जनताको विवेक र निर्णयमाथि भरोसा गरेका छौँ,” उहाँले भन्नुभयो, “पाँच वर्षपछि हाम्रो कामले नै सबै कुरा बोल्नेछ।”
लामिछानेले जनताको चाहनाअनुसार नै नयाँ शक्तिहरूलाई एकताबद्ध गर्दै पार्टी चुनावी प्रतिस्पर्धामा उत्रिएको दाबीसमेत गर्नुभयो ।


