Banner Nepal
मुगुमा पशुरोगको प्रकोप, राहत र उपचारको माग तीव्र

काठमाण्डौ — मुगु जिल्लाको सोरु गाउँपालिका–१० र ११ का विभिन्न गाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशुरोग फैलिँदा दुई सयभन्दा बढी भेडा र बाख्राको मृत्यु भएको छ। दई, कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउँमा रोग तीव्र रूपमा फैलिँदै गएपछि स्थानीय गोठालाहरू गम्भीर चिन्तामा परेका छन्।

यी वडाका अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत भेडा र बाख्रापालन भएकाले पशु मृत्युदर बढ्दै जाँदा दैनिक जीविकोपार्जन नै संकटमा परेको स्थानीयको भनाइ छ। स्थानीय युवा तथा नेपाल किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका अनुसार ती दुई वडामा करिब १५ सयदेखि दुई हजारसम्म भेडा र बाख्रा रहेका छन्। दैनिक रूपमा पशु मर्न थालेपछि गाउँमा त्रासको वातावरण सिर्जना भएको उहाँले बताउनुभयो।

स्थानीय गोठालाहरूका अनुसार संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दुब्लाउँदै जाने, खोकी लाग्ने, दुर्गन्धित दिसा हुने र लुतो लाग्ने जस्ता लक्षण देखिएका छन्। यस्ता लक्षण देखिएपछि पशु एकपछि अर्को गर्दै मर्न थालेको उनीहरूको भनाइ छ।

स्थानीय भेडा गोठाला रतन मल्लले आफ्ना ८० भेडामध्ये ठूलो सङ्ख्यामा यस्तै लक्षण देखिएपछि करिब २० वटा भेडा मरेको जानकारी दिनुभयो। अर्का गोठाला पुन्न मल्लका अनुसार ६० भेडामध्ये ९ वटा मरेका छन्। नौले नेपालीका ४५ मध्ये ९ वटा मरेका छन् भने बाँकी १५ भेडा बिरामी अवस्थामा रहेका छन्।

बाख्रा गोठालातर्फ पनि ठूलो क्षति भएको छ। काईचन्द्र देवकोटाले आफ्ना १५० बाख्रामध्ये २० वटा मरेको जानकारी दिनुभयो। त्यस्तै प्रदीप प्याकुरेलका ४५ मध्ये १०, परेकलाल जैसीका ५० मध्ये ६ र कबे जैसीका ४० मध्ये ७ वटा बाख्रा मरेका छन्। स्थानीयका अनुसार १०० भन्दा बढी गोठालाले भेडा र बाख्राको क्षति व्यहोर्नुपरेको छ।

पशु मृत्युदर बढ्दै जाँदा किसानको आर्थिक अवस्था थप कमजोर बन्दै गएको छ। भेडाबाख्रापालनमै निर्भर परिवारहरू अब घरखर्च कसरी चलाउने र बालबालिकाको पढाइ कसरी निरन्तरता दिने भन्ने चिन्तामा परेका छन्। बाख्रा गोठाला देवीभक्त प्याकुरेलले हालको अवस्था इतिहासकै सबैभन्दा पीडादायी बनेको बताउँदै दिनदिनै पशु मरेर नाश भइरहेको दृश्य हेर्नु बाहेक विकल्प नरहेको गुनासो गर्नुभयो।

यति ठूलो क्षति हुँदासमेत सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालयले समयमै चासो नदेखाएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। समस्या जानकारी गराउँदा सम्बन्धित निकायबाट उल्टै अपशब्द प्रयोग गरिएको र यसलाई सामान्य रोग भन्दै जिम्मेवारी पन्छाउने व्यवहार देखिएको आरोप उनीहरूको छ।

स्थानीयवासीले तत्काल पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरी रोगको पहिचान, नियन्त्रण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update