Banner Nepal
कांग्रेसको चुनावी अभियान फागुन ७ बाट, पहिलो सभा जनकपुरमा

काठमाण्डौ — नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन ७ गतेबाट औपचारिक चुनावी सभा सुरु गर्ने भएको छ। चुनावी अभियानको पहिलो ठूलो सभा मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने तयारी गरिएको छ।

कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका छन्। निर्वाचनको प्रारम्भिक सन्देश मधेशबाटै दिनुपर्ने रणनीतिअनुसार पार्टीले पहिलो ठूलाे सभा जनकपुरमा गर्न लागेको हो।

कांग्रेस सहमहामन्त्री डिला संग्रोलाका अनुसार जनकपुरको चुनावी सभालाई सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रमुख वक्ताका रूपमा सभापति र उपसभापति रहने र त्यसपछि प्रदेश तथा जिल्लागत आवश्यकता अनुसार पार्टीका अन्य नेताहरू चुनावी अभियानमा परिचालित हुने योजना रहेको उहाँले जानकारी दिनुभयो।

समय व्यवस्थापन मिलेसम्म सभापति थापा र उपसभापति शर्माले देशका विभिन्न स्थानमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने तयारी पनि भइरहेको संग्रोलाले बताउनुभयो। कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ भने उपसभापति शर्मा निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीमा छन्।

चुनावी अभियानलाई प्रभावकारी बनाउन शीर्ष नेताहरू स्वयं मैदानमा उत्रिने तयारीसँगै कांग्रेसले देशव्यापी जनसमर्थन विस्तार गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update