काठमाण्डौ — अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सामान्य अवस्थामा देशभर एकैसाथ सम्पन्न हुने स्पष्ट पार्नुभएको छ। उहाँले मतदानकै दिन भारी हिमपात भई मतदानस्थलमा प्रत्यक्ष असर परेमा मात्र सम्बन्धित स्थानमा दोस्रो चरणमा निर्वाचन हुन सक्ने बताउनुभयो।
हिमाली जिल्लामा अत्यधिक चिसोका कारण निर्वाचन सार्न सकिने चर्चा चलिरहेका बेला अर्थमन्त्री खनालले सरकारले निर्वाचन दुई चरणमा गर्ने कुनै वैकल्पिक योजना नबनाएको स्पष्ट गर्नुभयो। धौलागिरी अञ्चलअन्तर्गत पर्वत, बागलुङ र म्याग्दी जिल्लामा निर्वाचन तयारी तथा सुरक्षा व्यवस्थापनको अनुगमनका क्रममा उहाँले मुस्ताङलगायत हिमाली भेगमा भारी हिमपातका कारण मतदानस्थलमा अवरोध उत्पन्न भए तत्काल परिस्थितिअनुसार निर्णय गरिने जानकारी दिनुभयो।
फागुन महिनामा प्रायः मौसम खुल्ने भएकाले एकै दिन निर्वाचन सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको अर्थमन्त्री खनालको भनाइ थियो। सञ्चारमाध्यममा आएजस्तो हिमाली जिल्लाको निर्वाचन सार्ने विषयमा औपचारिक वा अनौपचारिक छलफलसमेत नभएको उल्लेख गर्दै उहाँले तराई, पहाड र हिमाली सबै जिल्लामा तोकिएको समयमै मतपत्र तथा आवश्यक सामग्री पुर्याइने दाबी गर्नुभयो।
मौसम प्रतिकूलता, वर्षा वा आकस्मिक हिमपातको अवस्था आएमा तत्कालीन परिस्थितिको मूल्याङ्कन गरी निर्णय गरिने भन्दै अर्थमन्त्री खनालले निर्वाचन तयारीमा जुट्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिनुभयो। शान्तिपूर्ण, सुरक्षित र मर्यादित निर्वाचन सम्पन्न गर्नु अन्तरिम सरकारको प्रमुख दायित्व रहेको उहाँले बताउनुभयो।
निर्वाचन तयारी र सम्पन्नका लागि आवश्यक थप बजेट निकासा गर्न सरकार तयार रहेको पनि अर्थमन्त्री खनालले जानकारी दिनुभयो। धौलागिरीका अन्य जिल्लाको तुलनामा मुस्ताङमा निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले त्यहाँको भौगोलिक र मौसमीय अवस्थालाई ध्यानमा राखेर विशेष सतर्कता अपनाइएको बताउनुभयो।
मुस्ताङ जिल्लाको उपल्लो क्षेत्र लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा तीन हजार पाँच सय ५३ मतदाता रहेका छन् भने थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सात हजार सात सय ७५ मतदाता छन्। मतदानका क्रममा हिमपात भएमा लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्रका केही मतदानस्थल प्रत्यक्ष प्रभावित हुन सक्ने आकलन गरिएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ३९ मतदानस्थलमार्फत कुल ११ हजार तीन सय २८ मतदाताले मतदान गर्ने व्यवस्था छ।


