काठमाण्डौ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से १२ दशमलव ५८ अङ्कले घट्दै दुई हजार ६८३ दशमलव १५ बिन्दुमा बन्द भएको हो।
कारोबारको क्रममा ३२२ कम्पनीका एक करोड ८७ लाखभन्दा बढी कित्ता शेयर ९२ हजारभन्दा धेरै पटक किनबेच हुँदा कुल कारोबार रकम रू आठ अर्ब ६३ करोड नाघेको छ। समूहगत रूपमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहमा सामान्य सुधार देखिए पनि बाँकी अधिकांश समूहका उपसूचक घटेका छन्।
बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा र लघुवित्त समूहमा गिरावट आएको छ। यसैगरी निर्जीवन बीमा, व्यापार र अन्य समूहका सूचक पनि ओरालो लागेका छन्।
व्यक्तिगत कम्पनीतर्फ कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल लिमिटेड शीर्ष स्थानमा रहँदा, शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ।


