काठमाण्डौ — सन् २०२६ को जनवरी महिनामा मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ‘ह्यारी’ का कारण करिब एक हजार आप्रवासीको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। इटालीस्थित राहत संस्था मेडिटेरेनिया सेभिङ ह्युमन्स ले जारी गरेको प्रेस विज्ञप्तिमा चक्रवातको समयमा समुद्रमा हराएका धेरै व्यक्तिको ज्यान गएको अनुमान गरिएको हो।
इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बीचमा पर्ने मध्य भूमध्य मार्ग पछिल्ला वर्षहरूमा युरोपतर्फ हुने अनियमित आप्रवासनका लागि सबैभन्दा व्यस्त र जोखिमपूर्ण मार्गमध्ये एक मानिन्छ। राहत संस्थाका अनुसार उत्तर अफ्रिकाको तटबाट यात्रा थालेका आप्रवासीहरू समुद्रमा संकटमा परेपछि उद्धार कार्य गरिँदै आएको छ।
जनवरी १८ देखि २५ तारिखसम्म सक्रिय रहेको चक्रवात ह्यारीले इटालीको दक्षिणी तट तथा माल्टा टापुमा ठूलो भौतिक क्षति पुर्याएको जनाइएको छ। चक्रवातका कारण उद्धार प्रयास प्रभावित हुँदा मानवीय क्षति थप बढेको आशंका गरिएको छ।


