काठमाण्डौ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल बनाउन नागरिकहरूलाई जिम्मेवार मतदान गर्न आग्रह गरेकी छन्। राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सहभागी हुन पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक र अभिभावकसँगको अन्तरक्रियामा यो निर्वाचन सामान्य नभई विशेष प्रकृतिको भएको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले व्यक्तिगत जित–हारभन्दा माथि उठेर देशको शान्ति र रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइन्। शान्ति र सुव्यवस्था कायम भए अवसर सबैका लागि सुनिश्चित हुने उल्लेख गर्दै उनले नागरिकलाई एकताबद्ध संकल्पका साथ मतदान गर्न आह्वान गरिन्।
औपचारिक कार्यक्रमपछि प्रधानमन्त्री कार्कीले विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि र सञ्चारकर्मीसँग छलफल गरेकी थिइन्। साथै, उनले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डे लगायत सुरक्षा निकायका अधिकारीसँग चुनावी तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइन्। सो क्रममा उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै संयन्त्रलाई पूर्ण जिम्मेवारीका साथ काम गर्न निर्देशन दिइन्।


