Banner Nepal
निर्वाचनका लागि एमालेनिकट युवा सङ्घ पूर्ण रूपमा परिचालित

काठमाण्डौ । नेकपा एमालेनिकट युवा सङ्घले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्गठनका सबै सदस्यलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

युवा सङ्घका अध्यक्ष माहाराज गुरुङले जारी गरेको विज्ञप्तिअनुसार १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमान्डर तोक्ने निर्णय गरिएको हो। पिरामिड शैलीमा समन्वय, सहकार्य र परिचालन गर्ने उद्देश्यसहित प्रत्येक तहमा निर्वाचन परिचालन कमान्ड गठन गरिएको जनाइएको छ।

विज्ञप्तिमा केन्द्रमा अध्यक्ष गुरुङको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमान्ड बनाइएको उल्लेख छ। प्रदेशस्तरमा मातहतका निर्वाचन परिचालन कमान्डलाई संयोजन र नेतृत्व गर्ने जिम्मेवारी पदाधिकारी तथा सचिवालय सदस्यलाई प्रदान गरिएको छ।

निर्वाचन क्षेत्रस्तरमा सङ्गठनद्वारा तोकिएका केन्द्रीय सदस्यको नेतृत्वमा मतदान केन्द्र रहेका केन्द्रीय निकाय, केन्द्रीय विभाग तथा प्रदेश, जिल्ला, पालिका, वडा र टोल कमिटीका पदाधिकारी एवं सदस्यहरू परिचालन कमान्डमा रहने निर्णय गरिएको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन कमान्ड अन्तर्गत ६७४३ वडामा वडा कमान्डर र १० हजार ९६७ वटा बुथमा बुथ कमान्डर तोकेको जनाएको छ।

विज्ञप्तिअनुसार परिचालन कमान्डहरूले उम्मेदवारलाई विजयी गराउन आवश्यक प्रचार–प्रसार रणनीति बनाउने, मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहित वातावरण सुनिश्चित गर्ने तथा उम्मेदवारसहितको सुरक्षा व्यवस्थापनमा भूमिका खेल्नेछन्।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update