काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा एमालेसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपा कुनै पनि दलसँग तालमेल नगरी चुनावी मैदानमा प्रवेश गरिसकेको बताए।
नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता सापकोटाले पार्टीले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको र सोही निर्णयअनुसार अघि बढिरहेको जानकारी दिए। ‘हामी एक्लै चुनावमा गइसकेका छौँ। कुनै दलसँग पनि तालमेल नगर्ने निर्णय पार्टीले गरिसकेको छ,’ उनले भने।
एमालेबाट चुनावी तालमेलको प्रस्ताव आएको भन्ने चर्चाबारे उनले पार्टीभित्र कुनै छलफल नै नभएको स्पष्ट पारे। औपचारिक रूपमा कुनै प्रस्ताव नआएको र यस विषयमा आन्तरिक बहससमेत नभएको उनको भनाइ थियो। ‘तालमेल गर्ने कुनै सम्भावना हामीले देखेका छैनौँ,’ सापकोटाले थपे।
नेकपाका अर्का नेता प्रकाश ज्वालाले पनि एमालेसँग चुनावी तालमेलको सम्भावना नरहेको दोहोर्याए। अहिलेसम्म त्यस्तो कुनै प्रस्ताव आएको जानकारी आफूहरूलाई नभएको र नेतृत्वसँग निरन्तर संवादमा रहे पनि तालमेल हुने अवस्था नदेखिएको उनको भनाइ थियो।


