Banner Nepal
चुनावका लागि राजीनामा दिने मन्त्रीलाई दोष नदिन कार्कीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ, महावीर पुनलगायत व्यक्तिलाई जेन–जी पुस्ताको दबाबका कारण आफूले हात जोडेरै सरकारमा सहभागी गराएको खुलासा गरेकी छन्। राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा ल्याउँदा ‘जति दिन सक्नुहुन्छ, बस्नुहोस्’ भनेर आग्रह गरिएको बताइन्।

चुनावका लागि राजीनामा दिएर बाहिरिएका चार मन्त्रीका विषयमा प्रधानमन्त्री कार्कीले सरकारमै बसेर चुनाव लड्ने अभ्यास उपयुक्त नहुने स्पष्ट पारिन्। अधिकारसहित जिम्मेवारी दिइएका व्यक्तिले चुनावमा जाने निर्णय गरेपछि राजीनामा स्वीकार गरेर सम्मानपूर्वक बिदाइ गरिएको उनको भनाइ थियो।

उनले राजीनामा दिएर गएकासँग हाल सम्पर्क नरहेको र उनीहरू अल्पकालीन रूपमा मात्रै सरकारमा बसेको उल्लेख गरिन्। जेन–जीको दबाबमा आएका उनीहरू चाँडै बाहिरिएको भन्दै उनले मन्त्रालयस्तरमा खास लाभ नलिएको टिप्पणी गरिन्।

प्रधानमन्त्री कार्कीले महावीर पुनलाई किताब बेच्दै गर्दा सुधन गुरुङले अँगालो हालेर सरकारमा ल्याएको प्रसंगसमेत स्मरण गरिन्। जगदीश खरेल र बब्लु गुप्ता युवानेता भएकाले चुनावमा जान नपाउने भन्ने सोच आफूमा नरहेको उनले बताइन्। चार मन्त्रीलाई दोष नलगाउन आग्रह गर्दै बरु जिम्मेवारी आफूले लिन तयार रहेको भनाइ पनि राखिन्।

महावीर पुन केही असन्तुष्ट भएर चुनावी यात्रामा लागेको दाबी गर्दै उनले दुई–चार वटा महत्वपूर्ण कानुन बनाउने प्रस्ताव आएको तर समय अभावका कारण कार्यान्वयन गर्न नसकिएको स्वीकार गरिन्। ती कानुन राष्ट्रहितमै रहेको उनको भनाइ थियो।

राजनीतिमा प्रत्यक्ष रुचि नभएका केही व्यक्ति अहिले पनि सरकारमै बसेर काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारका मन्त्रीलाई रास्वपाका भनेर गलत प्रचार गरिएकोप्रति असन्तुष्टि जनाइन्।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update