काठमाण्डौ—धनकुटामा आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाका लागि छनोट गरिएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम दिन सुरु गरिएको छ। शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममार्फत् निर्वाचन सुरक्षामा खटाइने प्रहरीको तालिम औपचारिक रूपमा प्रारम्भ गरिएको हो।
तालिमको उद्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गर्दै गर्नुभयो। माघ १८ गतेदेखि औपचारिक रूपमा तालिम सुरु गर्ने कार्यतालिका भए पनि भौगोलिक रूपमा टाढा क्षेत्रमा खटिनुपर्ने प्रहरीलाई ध्यानमा राख्दै तालिम समयअगावै सुरु गरिएको जनाइएको छ।
धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीका अनुसार तालिममा निर्वाचन सुरक्षाका क्रममा प्रहरीको भूमिका, कामको प्रकृति, तालिम अवधि, सेवा–सुविधा तथा कारबाहीसम्बन्धी विषयमा जानकारी गराइँदैछ। छनोट भएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, छिन्ताङ र राजारानी इलाका प्रहरी कार्यालय, पाख्रीवास, हिले, भेडेटारलगायतका स्थानमा खटाइने उनले बताए।
निर्वाचन सुरक्षाका लागि खटिने प्रहरीलाई १० दिनको आधारभूत तालिम दिइने र उनीहरूलाई पायक पर्ने स्थानमै तालिमको व्यवस्था गरिएको छ। तालिम सम्पन्न भएपछि माघ २५ गतेपछि कार्यक्षेत्रमा परिचालन गरिने जनाइएको छ।
धनकुटा जिल्लामा १ लाख १८ हजार ४ सय २४ मतदाता रहेका छन्। कुल १ हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी छनोट गरिएका छन्। नेपाल प्रहरीसँगको समन्वयमा अति संवेदनशील मतदान स्थलमा १० जना, संवेदनशीलमा ६ जना र सामान्य मतदान स्थलमा ५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जनाएको छ। जिल्लामा १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र रहेका छन्। तीमध्ये १६ मतदान स्थल अति संवेदनशील, ४९ संवेदनशील र बाँकी सामान्य श्रेणीमा परेका छन्।


