Banner Nepal
अमेरिकाद्वारा इजरायल र साउदी अरबलाई अर्बौँ डलरको हतियार बिक्री

काठमाण्डौ—संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री गर्ने प्रस्तावलाई औपचारिक रूपमा स्वीकृति दिएको छ। ट्रम्प प्रशासनले इजरायलका लागि करिब ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि नौ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको हो।

सम्झौताअनुसार साउदी अरबलाई ७३० वटा ‘पैट्रियट’ मिसाइल तथा त्यससँग सम्बन्धित उपकरणहरू आपूर्ति गरिनेछ, जसले क्षेत्रीय हवाई तथा मिसाइल प्रतिरक्षा क्षमतालाई थप सुदृढ बनाउने अमेरिकी पक्षको दाबी छ। यता, इजरायलले बख्तरबन्द साधन, ३० वटा ‘एपाच’ हेलिकप्टर तथा तीन हजार २५० वटा हल्का ट्याक्टिकल वाहन खरिद गर्नेछ।

एपाच हेलिकप्टर र त्यससम्बन्धी उपकरणको लागत करिब तीन अर्ब ८० करोड अमेरिकी डलर रहेको छ भने हल्का ट्याक्टिकल वाहनको लागत एक अर्ब ९८ करोड अमेरिकी डलर बराबर छ।

अमेरिकी प्रशासनले यी हतियार बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा नकारात्मक असर नपर्ने र दुवै देशलाई आफ्ना सीमा तथा जनसङ्ख्या केन्द्रको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने जनाएको छ। तर, केही अमेरिकी नेताहरूले यस सम्झौतामा हतार गरिएको भन्दै आलोचना गरेका छन्। यो निर्णय मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र सम्भावित सैन्य गतिविधिको पृष्ठभूमिमा आएको हो।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update