Banner Nepal
गगन थापा: स्थानीय–प्रदेश निर्वाचनअघि पार्टी महाधिवेशन सम्पन्न हुन्छ

काठमाण्डौ—नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने स्पष्ट पारेका छन्। काठमाण्डौ–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा उम्मेदवार छनोट वडास्तरमै ‘प्राइमरी इलेक्सन’ मार्फत् हुने बताए।

सभापति थापाका अनुसार महाधिवेशनपछि पार्टीभित्र उम्मेदवार चयनदेखि अन्य निर्णय प्रक्रियामा संरचनागत सुधार लागू हुनेछ। अब टिकटका लागि इच्छुकहरूले सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था नआउने उनको दाबी छ।

उनले कांग्रेसभित्र विगतमा देखिएको गुटबन्दी र ६०–४० को भागबण्डा समाप्त भइसकेको उल्लेख गर्दै पार्टीभित्र र बाहिर दुवै स्थानमा समान व्यवहारको नीति अवलम्बन गरिने बताए। नागरिक र पार्टी सदस्यलाई सशक्त बनाउने अभियान सुरु भइसकेको जनाउँदै थापाले नेतृत्वका निर्णयहरू पारदर्शी र संस्थागत हुनेमा जोड दिए।

सभापति थापाले ‘बदलिएको कांग्रेस’ को अवधारणा प्रस्तुत गर्दै पार्टी नेतृत्व कुनै पनि प्रकारका अपारदर्शी वा अस्वाभाविक सम्बन्धबाट टाढा रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update