नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार उल्लेखनीय गिरावट देखिएको छ। कारोबार दिनको अन्त्यमा नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर २ हजार ७२६ दशमलव ५१ बिन्दुमा झरेको छ, जुन १ दशमलव ५३ प्रतिशतको गिरावट हो।
नेप्सेका अनुसार आज ३३३ कम्पनीका कुल तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक किनबेच हुँदा कुल कारोबार रकम रू १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ पुगेको छ।
कारोबार भएका सबै समूहका उपसूचकहरू ओरालो लागेका छन्। बैंकिङ समूह १.४९ प्रतिशतले घट्दा विकास बैंक एक प्रतिशतले झरेको छ। वित्त समूह २.४४, होटल तथा पर्यटन १.९०, जलविद्युत् १.४१, लगानी १.७०, जीवन बीमा १.८५ र उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले घटेका छन्। यस्तै, निर्जीवन बीमा १.७४, व्यापार ०.५१ र अन्य समूह १.९७ प्रतिशतले ओरालो लागेको छ।
आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले वृद्धि भएको छ। विपरीततर्फ, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहँदै रू ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको शेयर किनबेच भएको छ। शेयर सङ्ख्याको हिसाबले भने आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १७ लाख ८० हजार ८८८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।


