Banner Nepal
लमजुङमा ६ मतदान केन्द्र थप

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङ जिल्लामा थप ६ वटा मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन आयोगले मतदानस्थलमा रहेका मतदाता सङ्ख्याको आधारमा साविककै मतदानस्थलमा केन्द्र थप गर्ने निर्णय गरेको हो।

यसअघि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले १३० मतदानस्थलमा १८६ मतदान केन्द्र सिफारिस गरेको थियो। तर केही मतदानस्थलमा मतदाता सङ्ख्या बढी देखिएपछि आयोगले पुनः मूल्याङ्कन गर्दै ६ मतदान केन्द्र थप गरी पठाएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले जानकारी दिनुभयो।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा कुल १३० मतदानस्थलमा १९२ मतदान केन्द्र कायम भएका छन्। अघिल्लो निर्वाचनमा भने १२८ मतदानस्थलमा १८२ मतदान केन्द्र रहेका थिए।

यसअघि सरोकारवालासँगको छलफलपछि जिल्लाको भौगोलिक अवस्था र मतदाताको सहजतालाई ध्यानमा राख्दै प्रतिनिधिसभा निर्वाचनका लागि दुई नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको थियो। सोही आधारमा बेसीशहर नगरपालिका–१० र दोर्दी गाउँपालिका–२ मा नयाँ मतदानस्थल कायम गरिएको छ। साथै मतदाता सङ्ख्या बढी भएका केही स्थलमा मतदान केन्द्र मात्र थपिएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङ जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेका छन्। तीमध्ये महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाता सङ्ख्या ३ हजार ४०७ ले वृद्धि भएको छ। अघिल्लो निर्वाचनमा जिल्लामा १ लाख ३३ हजार ७१७ मतदाता थिए।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थलहरूको नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ भने निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update