Banner Nepal
मङ्गोलियामा जाडोले ज्यान लिँदै

मङ्गोलियामा सन् २०२६ को जनवरी महिनाभर अत्यधिक चिसोका कारण हाइपोथर्मियाबाट १३ जनाको मृत्यु भएको छ। देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये अधिकांशले मदिरा सेवन गरेको पाइएको छ।

एनपिएका अनुसार कडाकेको जाडोमा हाइपोथर्मियाबाट ज्यान गुमाउनुको प्रमुख कारण मदिरा सेवन नै बनेको छ। उच्च जोखिमको समयमा रक्सी सेवन गर्दा शरीरको तापक्रम नियन्त्रण कमजोर हुने र त्यसले ज्यानै लिने अवस्था सिर्जना हुने चेतावनी पनि एजेन्सीले दिएको छ।

जनवरीको मध्यदेखि रूसको साइबेरिया क्षेत्रबाट प्रवेश गरेको अत्यन्त चिसो हावाको प्रभाव मङ्गोलियाका अधिकांश भूभागमा फैलिएको बताइएको छ। त्यसपछि देशभर तापक्रम उल्लेखनीय रूपमा घटेको जनाइएको छ।

देशको मौसम विज्ञान विभागका अनुसार जनवरी २१ मा उत्तरी मङ्गोलियाको सेलेन्ज प्रान्तअन्तर्गत एरु सोम क्षेत्रमा रातको तापक्रम माइनस ४५.२ डिग्री सेल्सियससम्म झरेको थियो। मङ्गोलियामा जाडो मौसम लामो समयसम्म रहने र सामान्यतया तापक्रम माइनस २५ देखि माइनस ४५ डिग्री सेल्सियसको दायरामा रहने बताइएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update