Banner Nepal
चुनावी माहोलसँगै सेयर बजार सक्रिय, नेप्सेमा हल्का गिरावट

काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अंकको करेक्सन देखिएको छ। आइतबार उल्लेख्य ५७ अंकले बढेको नेप्से सोमबार ३.०७ अंकले घटेर बन्द भएको हो। यद्यपि सूचकमा गिरावट आए पनि कारोबार रकममा देखिएको वृद्धिले सेयर बजारप्रतिको लगानीकर्ताको चासो अझ बलियो बनेको संकेत दिएको छ।

देशभर चुनावी माहोल बढ्दै जाँदा सुधारको बाटोमा रहेको सेयर बजारमा लगानीकर्ताको पुनरागमन र लगानी विस्तारसँगै सोमबार कारोबार रकम १६ अर्ब रुपैयाँ नाघेको छ। बजार सूचक घटे पनि कारोबारको यो आकारले आगामी दिनमा नेप्से पुनः उकालो लाग्न सक्ने अपेक्षा बलियो बनाएको विश्लेषकहरूको भनाइ छ।

कारोबार सुरु हुँदा २७७२.१७ अंकमा रहेको नेप्से सूचक कारोबारको अन्त्यमा ३.०७ अंकले घटेर २७६९.०९ अंकमा झरेको छ। सोमबार नेप्सेमा कारोबार भएका १६५ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।

समूहगत परिसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समूह ओरालो लागेका छन्। यद्यपि होटल, जलविद्युत्, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहमा सुधार देखिए पनि त्यसको समग्र नेप्सेमा प्रभाव सीमित रह्यो।

सोमबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। एसवाई प्यानल, हिमस्टार, सान्भी पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका सेयर मूल्य १० प्रतिशतले वृद्धि भएका छन्।

नेप्सेका अनुसार ३३२ कम्पनीका १ लाख ४७ हजारभन्दा बढी कारोबारबाट करिब १६ अर्ब ३५ करोड रुपैयाँ बराबरका ३ करोड ६२ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। यो कारोबार रकम आइतबारको तुलनामा करिब साढे दुई अर्ब रुपैयाँले बढी हो।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update