Banner Nepal
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरुद्ध निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत अभिव्यक्ति दिएको आरोपसहित निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। धर्मराज तिमिल्सिनाले आयोगमा निवेदन दर्ता गराएका हुन्।

निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी र तथ्यमा आधारित सार्वजनिक बहसको सन्दर्भमा बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविरुद्ध रहेको उल्लेख गरिएको छ। आयोगमा दर्ता उजुरीअनुसार, प्रमाण वा अदालतको निर्णयबिनै गम्भीर आरोप लगाइएका अभिव्यक्तिहरू तथ्यहीन र गैरजिम्मेवार रहेको दाबी गरिएको छ।

यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने जोखिम रहने निवेदनमा उल्लेख छ। साथै, यसले निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने र लोकतान्त्रिक बहसलाई नीति तथा विचारको तहबाट आरोप–प्रत्यारोपतर्फ धकेल्ने तर्क गरिएको छ।

निवेदनमा संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गर्न निषेध गरेको स्मरण गराउँदै, बालेन शाहको अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भए आवश्यक कारबाही गर्न माग गरिएको छ।

यसै निवेदनमा महोत्तरीलगायत क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै, उक्त कार्य पनि आचारसंहिता विपरीत भएको दाबी गरिएको छ। ती सबै घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update